काठमाडौं । पश्चिम एसियामा जारी युद्धबीच विश्वको ऊर्जा ‘लाइफलाइन’ मानिने होर्मुज जलमार्गमा जहाजहरूको आवागमन ठप्प प्रायः भएको छ । सामान्य अवस्थामा हरेक महिना करिब तीन हजार जहाज यो मार्गबाट गुज्रन्थे । पश्चिम एसियामा युद्ध सुरु भएयता हालसम्म २१ जहाज (ट्यांकर) मात्र यो बाटोबाट पार भएका छन् ।
विज्ञका अनुसार, स्थिति चाँडै सुधार नभए विश्वव्यापी तेल आपूर्तिमा प्रतिदिन एक करोड ब्यारेलसम्मको कमी आउन सक्नेछ । होर्मुज जलमार्ग यति बेला युद्धको केन्द्र बनेको छ ।
यही मार्च १ देखि १५ का बीचमा चीनसँग सम्बन्धित ११ जहाजले यो मार्ग प्रयोग गरेका छन् । भारतले मार्च १४ मा आफ्ना झन्डावाहक दुई एलपीजी ट्यांकर जहाज सुरक्षित रूपमा यो बाटोबाट पार भएको जनाएको छ ।
एसियामा सबैभन्दा ठूलो असर
होर्मुज संकटको सिधा असर विश्वव्यापी ऊर्जा बजारमा परेको छ । कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब १२० डलर पुगेको रोयटर्सले जनाएको छ ।
यस वर्ष यो लगभग ७० र गत सालको तुलनामा करिब ५० प्रतिशत बढी हो । यो संकटको सबैभन्दा ठूलो प्रभाव एसियाली देशहरूमा पर्ने सम्भावना छ ।
चीनले इरानबाट निर्यात हुने तेलको करिब ९० प्रतिशत खरिद गर्छ । र, सोही तेलबाट उत्पादित वस्तु विश्वभर निर्यात गर्छ । ऊर्जाको मूल्यवृद्धिले विश्वव्यापी मुद्रास्फीति ९महँगी० बढाउन सक्छ ।
यसबाहेक भारत, जापान र दक्षिण कोरियाजस्ता देशहरू पनि यो मार्गमा निकै निर्भर छन् । इरानसँग वार्ता गरेर स्थिति सामान्य बनाउने प्रयास जारी छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालका निम्ति पश्चिम एसियामा थप अमेरिकी सैनिक तैनाथ नगरिएको स्पष्ट पारेका छन् । उनले इरानसँगको तनावबीच ह्वाइट हाउसमा जापानकी प्रधानमन्त्री सानाए ताकाइचीसँगको भेटमा यस्तो बताएका हुन् ।
“मैले कतै पनि सैनिक पठाइरहेको छैन । पठाउने नै भए पनि तपाईंहरूलाई जानकारी दिने थिइनँ । तर, अहिले सैनिक पठाउने कुनै योजना छैन । हामी त्यही गर्नेछौँ, जो आवश्यक हुनेछ,” उनले भने ।
इरानको रणनीतिक पकड र नियन्त्रण
संयुक्त राष्ट्रसंघका नियमानुसार तटीय देशहरूलाई १२ नटिकल माइलसम्मको समुद्री क्षेत्रमा नियन्त्रण गर्ने अधिकार हुन्छ । होर्मुज जलसन्धिको सबैभन्दा साँघुरो हिस्सा इरान र ओमानको क्षेत्रीय जलक्षेत्रमा पर्छ । यसले इरानलाई रणनीतिक लाभ दिन्छ ।
विज्ञका अनुसार, इरानसँग समुद्री माइनहरू ओछ्याउने, तीव्र गतिका डुंगा र एन्टि–सिप मिसाइलमार्फत यो मार्ग अवरुद्ध गर्ने क्षमता छ ।