धनगढी । सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभाका १६ वटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।सार्वजनिक अन्तिम नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यहाँका १० वटा क्षेत्रमा फराकिलो जित निकाल्दै प्रदेशकै पहिलो पार्टी बन्न सफल भएको छ।
कैलाली जिल्लामा रास्वपाले ५ वटा सिटमा जित हासिल गरेको छ । नतिजाअनुसार कैलाली क्षेत्र नम्बर १ मा रास्वपाकी कोमल ज्ञवाली १७ हजार ८२६ मत र क्षेत्र नम्बर ५ मा आनन्द चन्द ३१ हजार ९५३ मतसहित विजयी भएका छन् । त्यस्तै, कैलाली क्षेत्र नम्बर ३ मा जगतप्रसाद जोशीले २० हजार ३५९ मत, क्षेत्र नम्बर ४ मा खेमराज कोइरालाले २८ हजार ५५६ मत र क्षेत्र नम्बर २ मा केपी खनालले १९ हजार ५७ मत ल्याउँदै जित निकालेका छन्।
कञ्चनपुर जिल्लामा पनि रास्वपाका उम्मेदवारहरू भारी मतले निर्वाचित भएका छन्। कञ्चनपुर क्षेत्र नम्बर २ मा दीपक बोहरा ३३ हजार ९५२ मतसहित निर्वाचित भए भने क्षेत्र नम्बर १ मा जनकसिंह धामी २४ हजार ३३२ मत ल्याएर विजयी भए। कञ्चनपुर क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्रसिंह महता विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहरालाई १७ हजार ६७५ को फराकिलो मतान्तरले पराजित गरेका हुन्।
उता डडेलधुरामा भने ३४ वर्षपछि नेपाली कांग्रेसको किल्ला ढलेको छ। उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार डा। ताराप्रसाद जोशी १९ हजार १३१ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरे। जोशीले महरलाई ७ हजार १० मतान्तरले पराजित गरेका हुन्।
यसैगरी, बैतडीमा रास्वपाका हरिमोहन भण्डारी २२ हजार १३४ मत ल्याएर विजयी भएका छन् । समानुपातिकतर्फको मतगणना जारी छ ।
यी हुन् रास्वपाका गुमेका ६ सिट
सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभाका १६ वटा निर्वाचन क्षेत्रमा १० सिट जिते पनि रास्वपाले ६ सिट भने गुमाएको छ।
यद्यपि पुराना दल भन्दा रास्वपा धेरै सिट जितेर प्रदेशकै पहिलो पार्टी बन्न सफल भएको छ। ६ सिटमा रास्वपाले निकै आस मानेका युवाहरू पराजय भोग्न बाध्य भए।
देशभर रास्वपाको लहर चलिरहँदा सुदूरपश्चिमका पहाडी ५ जिल्लामा भने मतदाताले पुरानै दलहरू नेकपा एमाले र नेपाली कांग्रेसलाई नै दोहोर्याएका छन्।
रास्वपाले अछामका दुवै क्षेत्रसहित बझाङ, दार्चुला, डोटी र बाजुरामा हार व्यहोरेको छ। नतिजाअनुसार अछाम क्षेत्र नम्बर १ मा रास्वपाका ओमप्रकाश रावलले १ हजार ७ सय ३९ मत ल्याए भने अछाम क्षेत्र नम्बर २ मा भुपदेव शाह ४ हजार ५ सय ६२ मतमा सीमित भए।
त्यसैगरी बझाङमा शैलेस सिंहले ९ हजार २ सय ६३ मत ल्याउँदा डोटीमा नरेन्द्रबहादुर खड्काले १३ हजार २७० मत प्राप्त गरे। दार्चुलामा राजेश सिंह सामन्त (साउद) ले ८ हजार ९ सय ३६ मत र बाजुरामा हेमराज थापाले ६ हजार ३५ मत मात्र प्राप्त गर्न सके। यी ६ वटा क्षेत्रमा रास्वपाको जित हुन सकेन।