धनगढी । एक्सिस विद्याश्रम माध्यमिक विद्यालयको आयोजनामा ‘एक्सिस व्यवस्थापन महोत्सव–२०८२’ उत्साह, प्रतिस्पर्धा र सिकाइको उत्कृष्ट वातावरणमा भव्य रूपमा सम्पन्न भएको छ।
व्यवस्थापन विषयप्रति विद्यार्थीहरूको रुचि अभिवृद्धि गर्ने, नेतृत्व क्षमता विकास गर्ने तथा उद्यमशील सोचलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रम विद्यालयका प्राचार्यको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा पुष्कर ओझा, अध्यक्ष – कैलाली उद्योग वाणिज्य संघ उपस्थित रहनुभएको थियो।
विशिष्ट अतिथिहरूमा दिनेश पौडेल, उप–प्राध्यापक – कैलाली बहुमुखी क्याम्पस; प्रेम जोशी, उप–प्राध्यापक – नाष्ट कलेज; तथा गोविन्द उपाध्याय, उप–प्राध्यापक – ऐश्वर्य बहुमुखी क्याम्पसको गरिमामय उपस्थिति रहेको थियो।
महोत्सवमा सात वटा विद्यालयहरूको सक्रिय सहभागिता रहेको थियो। व्यवस्थापन प्रश्नोत्तरी तथा व्यवसाय योजना प्रस्तुतीकरणलगायत प्रतियोगितामार्फत विद्यार्थीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र व्यवस्थापन सीप प्रदर्शन गरेका थिए।
प्रतियोगिताअन्तर्गत व्यवस्थापन प्रश्नोत्तरीतर्फ प्रथम स्थान बाल्मिकी इन्टरनेशनल स्कूलले हासिल गरेको छ भने द्वितीय स्थान एक्सिस विद्याश्रम माध्यमिक विद्यालय र तृतीय स्थान नाष्ट कलेजले प्राप्त गरेका छन्।
त्यसैगरी, व्यवसाय योजना प्रस्तुतीकरणतर्फ प्रथम स्थान ग्यालेक्सी माध्यमिक विद्यालयले हासिल गरेको छ भने द्वितीय स्थान एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले प्राप्त गरेको छ।
विद्यालय प्रशासनले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण अतिथि, निर्णायक, शिक्षकवृन्द, सहभागी विद्यालय तथा विद्यार्थीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।