काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेट २०२६ अन्तर्गत बिहीबार (आज) समूह ‘सी’ को खेलमा नेपाल र इटालीले प्रतिस्पर्धा गर्दैछन् ।
मुम्बईको वानखेडे रंगशालामा नेपालसँग बिहीबार दिउँसो सवा तीन बजे इटालीले प्रतिस्प्रधा गर्ने छ । नेपाल संग प्रतिस्प्रधा गर्नु असिघ इटालीका कप्तान वायन म्याडसेनले वानखेडे जस्तो ऐतिहासिक रंगशालामा खेल्न पाउनु ठूलो सम्मान भएको बताए ।
‘खेलमा नेपाली समर्थकको ठूलो उपस्थिति हुनेछ,’ उनले भने, ‘हामी नेपाली समर्थकका अगाडि खेल्न निकै उत्साहित छौँ, हामी यसलाई दबाबको रूपमा होइन, एउटा अवसरको रूपमा लिनेछौँ, खाली रंगशालामा भन्दा हजारौँ दर्शकका अगाडि खेल्नुको मज्जा बेग्लै हुन्छ ।’
कप्तान म्याडसेन घाइते भएका कारण नेपालविरुद्धको खेलमा उपलब्ध हुने छैनन् । उनले आफ्नो चोटबारे भने, ‘मेरो काँधको चोटका कारण म भोलि खेल्न सक्दिनँ । मेरो ठाउँमा उप–कप्तान ह्यारी मानेन्टीले टोलीको कप्तानी गर्नेछन् ।’ नेपालले इंग्ल्याण्डलाई कडा टक्कर दिएको खेलबाट आफूहरूले पाठ सिकेको प्रशिक्षक जोन डेभिसनले बताए ।
‘टी–२० क्रिकेटमा जुनसुकै टिमले पनि जित्न सक्छ,’ उनले भने, ‘नेपाल निकै राम्रो टोली हो, तर हामीले पनि अभ्यास खेलमा युएई जस्तो बलियो टोलीलाई हराएका थियौँ, त्यसैले हामी भोलि जितकै लागि मैदान उत्रनेछौँ ।’ प्रशिक्षक डेभिसनले टोलीलाई निडर भएर खेल्न सन्देश दिएका छन् । ‘मैले खेलाडीहरूलाई बहादुर बन्न र डराउनुको सट्टा खुलेर खेल्न भनेको छु,’ कप्तान म्याडसेनले भने, ‘अघिल्लो खेलमा हामीले केही गल्ती गर्यौँ, तर भोलि हामी ती गल्ती सुधार्दै लामो समयसम्म टिकेर खेल्ने प्रयास गर्नेछौँ ।’
इटालीका धेरै खेलाडीहरू व्यावसायिक क्रिकेटर मात्र होइनन् । कोही ’उबर’ ट्याक्सी चलाउँछन् त कोही पिज्जा पसलमा काम गर्छन् । यसबारे म्याडसेनले भने, ‘हाम्रो लागि विश्वकप खेल्नु नै ठूलो उपलब्धि हो, यो हाम्रो देशमा क्रिकेट विकासको लागि एउटा जग हो, हामी यहाँ केवल खेल्न मात्र आएका होइनौँ, हामी एउटा विरासत छोड्न चाहन्छौँ ताकि इटालीका आगामी पुस्ताले पनि क्रिकेट खेलून् ।’ प्रशिक्षक डेभिसनले नेपालको एउटा ठूलो शक्ति भनेको उनीहरू सँगै धेरै खेल्ने गरेको बताए । ‘नेपालको टोली धेरै समय सँगै खेल्छ,’ उनले भने, ‘जुन उनीहरूको बलियो पक्ष हो, हाम्रा खेलाडीहरू भने कोही इंग्ल्याण्ड त कोही अष्ट्रेलियामा हुन्छन्, तर, आजको खेलमा जसले कन्डिसनसँग छिटो घुलमिल हुन सक्छ, उसैले जित्नेछ ।’
मुम्बईमा खेल्नु फाइदाजनक छ ः रोहीत
आइसीसी विश्वकप क्रिकेट २०२६ मा नेपालले बिहीबार (आज) आफ्नो दोश्रो खेल इटालीसंग खेल्दै छ । पहिलो खेलमा इङल्याण््डसंग चार रनको हार व्यहोरेको नेपालले आजको खेल जितेर सुपर–८ को सम्भावनालाई कायमै गर्न चाहन्छ ।
नेपालका कप्तान रोहितकुमार पौडेलले नेपालका लागि मुम्बईमा खेल्नु फाइदा भएको प्रतिक्रिया दिएका छन् । इटाली कोलकाताको इडेन गार्डेनबाट मुम्बई आएको छ । अझ इटालीले अभ्यास सत्र वानखेडेमा नभई डिवाइ पाटिल रंगशालामा गरेको छ ।
नेपालका कप्तान रोहितले इटालीसँग खेल्न तयार भएको बताएका छन् । साथै इटाली राम्रो टोली भएको पनि रोहितको भनाइ छ ।
‘हामीले विश्वकपको उपाधि दाबेदार टोलीमध्ये एकसँग जसरी खेल्यौँ, त्यसले इटालीविरुद्धको खेलका लागि मनोबल बढाएको छ,’ रोहिीतले भने, ‘इटाली पनि एउटा राम्रो टोली हो, त्यसैले कुनै पनि टोलीलाई हल्का रूपमा लिनु हुँदैन, हामीले बनाएका योजनाहरू मैदानमा उतार्ने यो सही समय हो ।’