सुर्खेत । प्रेस चौतारी नेपाल सुर्खेत शाखाले अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ ।
चौतारीले आफ्नो २८ औं स्थापना दिवसको अवसर पारेर आज वीरेन्द्रनगरमा एक कार्यक्रमका वीच पाँच जना अग्रज पत्रकारलाई सम्मान गरेको हो । सम्मानित हुनेमा प्रेस स्वतन्त्रता सेनानी बालाराम शर्मा, वरिष्ठ पत्रकार तथा लेखक पृथ्वीबहादुर सिंह, खडानन्द कँडेल, डा. दीपक गौतम र सूर्यमणि गौतम रहेका छन् ।
उनीहरुलाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खादा तथा प्रमाणपत्रले सम्मान गरेका हुन् । चौतारीले सो अवसरमा आयोजना गरेको अग्रज पत्रकार सम्मान तथा सम्वाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले देशको अवस्था सोचेजस्तो सहज नरहेको भन्दै संविधान जोगाउने यो गम्भीर मोडमा आयोजित निर्वाचन राजनीतिक दलहरुलाई दुई कित्तामा विभाजन हुनुपर्ने अवस्था आएको बताए ।
‘एक कित्ता देश बनाउने हो, अर्को देश समाप्त गर्ने हो,’ उनले भने, ‘नयाँ भन्ने दलहरू विकासका लागि होइन, विध्वंसका प्रतीक बनेका छन् ।’ उनले सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार प्रवाह गर्ने मूल दायित्वबाट विचलित नभई प्रेस चौतारी लोकतन्त्रको रक्षा एवं नागरिकको भरोसा अभिवृद्धिमा सहयोगसिद्ध हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले लोकतन्त्र, गणतन्त्र, मानवअधिकार तथा पूर्ण प्रेस स्वतन्त्रता संरक्षणमा योगदान पुर्याउने प्रति कृतज्ञ व्यक्त गर्दै निर्वाचनमा सोसल मिडिया मार्फत भ्रामक दुष्प्रचार तथा चरित्र हत्या गर्ने जस्ता कार्यलाई निस्तेज गर्न आवश्यक रहेको औल्याए ।
‘सत्य, तथ्य र विश्वसनीय समाचारले मात्र लोकतन्त्र बलियो बन्नसक्छ, उत्तेजना र आवेगमा आएर मिथ्या एवं भ्रमपूर्ण सूचना फैलाउनु हुँदैन्,’ अध्यक्ष देवकोटाले भने, ‘प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत तत्व भएकाले यसको संरक्षणमा नेकपा एमाले प्रतिबद्ध भएर जुटेको छ ।’ सामाजिक सञ्जालमा देखाइएको भीड र मतदानमा खस्ने मत फरक कुरा भएको बताउँदै उनले प्रत्यक्षतर्फको मत धेरै पार्टीमा विभाजित भएपनि एमालेले बहुमत ल्याउने दावी गरे ।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेशका इन्चार्ज यामप्रसाद शर्माले आफ्नो हक, अधिकारका लागि पत्रकारहरु सशक्त भएर अगाडि बढ्नुपर्ने बेला आएको बताउँदै आगामी निर्वाचनमा लोकतन्त्रका लागि लडेका उम्मेदवारलाई सहयोग गर्नुपर्नेमा जोड दिए । उनले पछिल्लो समय सत्यतथ्यलाई तोडमोड गरी सूचना प्रविधिको दुरुपयोग गरेर भ्रम फैलाउनु चिन्ताको विषय बन्दै गईरहेको बताउँदै पत्रकारहरु यसबाट सचेत बन्न आग्रह गरे । निर्वाचन आचार संहिताको पालना गरी सबै पक्षलाई मिलेर निर्वाचनलाई सफल गराउने कार्यमा प्रेस चौतारी समेत प्रतिवद्ध रहेको उनको भनाइ थियो ।
कार्यक्रममा प्रेस चौतारी नेपाल सुर्खेतका अध्यक्ष मुना हमालले पेशागत मर्यादालाई उच्च राख्दै प्रेस चौतारीले पत्रकार आचार संहिता पूर्णरुपमा पालना गरी जनतालाई सुसुचित गराइरहेको बताईन् ।