धनगढी । भारतका विभिन्न स्थानमा निपाहा भाइरसको संक्रमण बढेपछि सुदूरपश्चिमका भारतसंग जोडिएका सीमा नाकामा आवत जावत् गर्ने नागरिकको निग्रानी बढाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाटनै सीमा क्षेत्रमा आवतजावत् गर्ने नागरिकको निग्रानी बढाउन निर्देशन आएपछि स्वास्थ्य निर्देशनालय डोटीले सवै क्षेत्रमा आवश्यक निग्रानी बढाएको हो ।
सुदूरपश्चिम प्रदेशका निमित्त स्वास्थ्य निर्देशक डा. खगेन्द्र बमका अनुसार दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीका सीमा नाकामा आवत जावत् गर्ने नागरिकको निग्रानी गर्न सुरु गरिएको छ । खास गरी भारतबाट आएका नागरिकको सीमा क्षेत्रमा निग्रानी गर्न सुरु गरिएको निर्देशक बमले बताए । ‘सीमा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ,’ वमले भने, ‘भारतबाट आउने नागरिकको समान्य स्वास्थ्य परिक्षण गर्न र अस्वस्थताका कुनै लक्षण देखि थप चेकजाँच गर्न भनेका छौं, अहिले नै आत्तिनुपर्ने अवस्था नरहेपछि हामी सावधानी अपनाई रहेका छौं ।’
वमले भाइरसको जोखिम तत्काल नभएका कारण आत्तिनुपर्ने अवस्था भने नरहेको बताए । ‘तत्काल आत्तिनुपर्ने, डराउनुपर्ने अवस्था छैन,’ वमले भने, भारतमा पनि अहिले यो रोग नियन्त्रणमा आइरहेको भन्ने समाचार छ, तर सवैले सचेत हुनु जरुरी छ, समस्या आउनै नदिने उपाय तर्फ हामी लाग्नु पर्दछ ।’
भारतबाट आउने व्यक्तिहरूका लागि सीमा नाकामा डेस्कमार्फत नमुना संकलन भइरहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए । उनले भने, ‘भारतमा निपा भाइरसको सङ्क्रमण छ, भारतको पश्चिम बंगालमा यसको संक्रमण देखिएको पुष्टि नै भइसकेको छ, सुदूरपश्चिम पनि भारतसँग जोडिएको छ, भारतबाट फलफूल पनि नेपाल आउछ, सीमा नाकाहरूमा हाम्रा स्वास्थ्यकर्म छन्, उहाँहरूलाई लक्ष्यण देखिए, अस्पताल पठाउन र खबर गर्न भनेका छौ । नेपाल सरकारले पनि सचेतनामूलक काम गर्दै छ ।’
भारतमा घातक निपा भाइरसको सङ्क्रमण बढेकोले त्रिनगर गौरीफन्टा सीमा नाकामा हेल्थ डेस्कमार्फत भारतबाट आउने व्यक्तिमा निगरानी बढाएको छ । शंका लागेका बिरामीहरूलाई फरक ठाउँमा राख्ने तयारी गरिएको छ । स्वास्थ्य कार्यालयले प्रदेश प्रयोगशालासँगको समन्वयमा ठुला प्रयोगशालाहरूमा नमुना पठाउने सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश मलासीले बताए । उनले भने, ‘जोखिम छ, प्रदेशभरीमा सूचना पुगाएका छौ, जिल्लाहरूमा स्वास्थ्य कार्यालयहरूले काम गर्दैछन्, स्थानीय स्तरमा पनि टिम छ, हामी तयारीमा छौ ।’ तत्कालका लागि संकास्पद नमूना आए प्रदेश प्रयोग शालामा नमूना परिक्षण गर्ने व्यवस्था गरिएको मलासीले बताए । ‘सीमामै तत्काल परिक्षण गर्ने प्रबिधि अहिले उपलब्ध छैन,’ उनले भने, ‘त्यसको व्यवस्था सरकारले गरिरहेको होला अहिलेका लागि कसैमाथि संका लागे नमूना संकलन गरी प्रदेश प्रयोग शालामा परिक्षण गर्ने व्यवस्था गरिएको छ, तत्काल त्यति धेरै प्रेसर पनि हामीलाई छैन ।’
भारतबाट आउने व्यक्तिमा ज्वरोको लक्षण देखिएमा आइसोलेसनमा राखेर नमुना संकलन गरी परीक्षणका लागि पठाउने व्यवस्था मिलाइएको छ । निपा सङ्क्रमणको शँका भएका बिरामीसँग व्यक्तिगत सुरक्षाका उपायहरू नअपनाई सम्पर्क नगर्न, बिरामीको हेरचाहपछि हात साबु नपानीले राम्ररी धुन र शंका लागेमा ढिला नगरी स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख कुँवरले भने, ‘हामीसँग प्रयोगशाला छैन, प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरेका छौ, हाम्रा अन्य प्रयोगशालासँग समन्वयमा छौ, काठमाडौँ नमुना पठायर परीक्षण गर्ने तयारीमा छौ ।’
सङ्क्रमण फैलिएको स्थानहरू भ्रमण गरी फर्किएका व्यक्तिहरूलाई निश्चित समयका लागि क्वारेन्टाइन बस्न समेत निर्देशन दिइएको छ ।
यो भाइरस कहाँबाट र कसरी फैलिन्छ?
संक्रमित जनावरबाट सुँगुर जस्ता मध्यवर्ती जनावरमा भाइरस हुँदा त्यसलाई छुँदा वा मासु प्रशोधन गर्दा मानिसमा सर्न सक्छ । त्यस्तै मानिस–मानिस सर्नेः संक्रमित व्यक्ति खोक्दा, हाच्छ्यु गर्दा वा नजिकको सम्पर्कमा भाइरस अर्को व्यक्तिमा सर्छ ।
निपाह भाइरस अत्यन्तै प्राणघातक मानिन्छ किनभने यसको मृत्यु दर ४०–७५ प्रतिशतसम्म पुगेको छ र हालसम्म कुनै निश्चित उपचार वा खोप उपलब्ध छैन । सिडिसीले यसलाई क्याटोगोरी सी एजेन्ट को रूपमा वर्गीकृत गरेको छ भने डब्लुएचओले यसलाई भविष्यका महामारीको सम्भावना बोकेको रोगको सूचीमा राखेको छ । निपाह भाइरसको पहिलो प्रकोप सन् १९९८ मा मलेसियामा सुँगुर र सुँगुर किसानहरूमा देखिएको थियो । जसमा २ सय ६५ संक्रमितमध्ये १ सय ८ जनाको मृत्यु भएको थियो । सन २०२३ मा बंगलादेशमा निपाह भाइरसको संक्रमण पुष्टि भएको थियो । बंगला देशमा ११ जनामा संक्रमण हुदा ८ जनाको मृत्यु पुष्टि भएको थियो ।